एनपिएल-च्याम्पियन-जनकपुर-बोल्ट्सको-फड्को:-बेल्जियमको-'ईयू-टी-२०'-मा-अब-'जेबी-ब्रुजेस

top-news
  • star khabar
  • ४ महिना अगाडि
  • ९,४४२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

'

फाल्गुन -२३काठमाडौं |
स्टार खबर।

नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको ऐतिहासिक विजेता टोली जनकपुर बोल्ट्सले आफ्नो व्यावसायिक यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको छ। जनकपुर बोल्ट्सले बेल्जियममा आयोजना हुन लागेको 'ईयू टी-२०' (EUT20) लिगमा नयाँ टिम खरिद गरेको छ, जसको नाम 'जेबी ब्रुजेस' (JB Bruges) राखिएको छ।
मंगलबार एक विशेष घोषणा गर्दै जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले नेपाली क्रिकेट र खेलाडीहरूलाई विश्वस्तरमा एक्सपोजर दिने उद्देश्यले यो लगानी गरिएको जानकारी दिए।


नेपाली खेलाडीलाई प्राथमिकता: सिग्देल
आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा संचालन हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागितालाई मुख्य प्राथमिकता दिइने सिग्देलले बताए।


उनले भने"हामीले यो फ्रेन्चाइज नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने र विदेशी खेलाडीहरूलाई नेपाली क्रिकेटसँग जोड्ने लक्ष्यका साथ सुरु गरेका हौं। यसले नेपाली क्रिकेटको ब्रान्ड भ्यालु विश्वभर फैलाउन मद्दत पुग्ने हाम्रो विश्वास छ।"

सिग्देलका अनुसार पहिलो सिजनका लागि टोलीले करिब १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ भन्दा बढी) लगानी गर्ने अनुमान गरिएको छ।


चन्दरपल मुख्य प्रशिक्षक, मोर्गन ब्रान्ड एम्बेसडर
जनकपुर बोल्ट्सलाई एनपिएलको पहिलो उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका वेस्ट इन्डिजका लिजेन्ड शिवनारायण चन्दरपलले नै 'जेबी ब्रुजेस' को मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि, एनपिएलको दोस्रो सिजनमा भने चन्दरपलकै प्रशिक्षणमा रहेको जनकपुर तालिकाको पुछारमा सीमित भएको थियो।


यस प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा इंग्ल्याण्डलाई विश्वकप दिलाउने कप्तान इओन मोर्गन रहेका छन्।
विश्वका स्टार खेलाडीहरूको जमघट
बेल्जियम क्रिकेट संघ र डेस्टिनो लेजेन्ड्स स्पोर्ट्सको सहकार्यमा हुन लागेको यस लिगमा विश्व क्रिकेटका हस्तीहरू मैदानमा उत्रिनेछन्। हालसम्म पुष्टि भएका खेलाडीहरूमा:
श्रीलंका: एन्जेलो म्याथ्युज र वानिन्दु हसरंगा
दक्षिण अफ्रिका: फाफ डु प्लेसिस, रासी भान डर डुसेन र रिजा हेन्ड्रिक्स
न्युजिल्याण्ड: टिम साउथी
इंग्ल्याण्ड: जेम्स भिन्स र एलेक्स हेल्स
प्रतियोगिताको संरचना
कुल ६ टोली रहने यस प्रतियोगितामा हालसम्म जेबी ब्रुजेस, एन्टवर्प एन्कर्स र लिज रेड लायन्सको नाम सार्वजनिक भइसकेको छ। बाँकी ब्रसेल्स, घेन्ट र लुभेनका टोलीहरूको मालिक घोषणा हुन बाँकी छ।
प्रत्येक टोलीमा १६ जना खेलाडी रहनेछन्, जसमा ४ जना बेल्जियमका स्थानीय खेलाडी अनिवार्य गरिएको छ। प्लेइङ-११ मा कम्तीमा एक जना बेल्जियमको खेलाडी हुनुपर्ने प्रावधान छ। ९ दिनसम्म चल्ने यो प्रतियोगिता 'राउन्ड रोबिन' आधारमा हुनेछ, जहाँ दैनिक दुई खेलहरू खेलाइनेछ।


विशेष कुरा त के छ भने, ईयू टी-२० को ड्राफ्ट लिस्टमा १६ जना नेपाली खेलाडीहरू समावेश गरिएको बताइएको छ, जसले गर्दा बेल्जियमको मैदानमा नेपाली प्रतिभाको बाहुल्यता रहने देखिएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *