चैत -६ सिरहा।
स्टार खबर ।
सिरहाको विष्णुपुर गाउँपालिकामा आज शुक्रबार विष्णुपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले लामखुट्टे नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्।
सो क्रममा उनीहरूले गाउँपालिका अध्यक्ष सत्यनारायण यादवसँग भेटघाट गरी विकास, शिक्षा र स्वास्थ्य क्षेत्रका समसामयिक विषयहरूमा विस्तृत छलफल गरेका छन्।
रास्वपा युवाहरूले लामखुट्टेको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै औषधि (फगिङ स्प्रे) छर्कने कार्यसमेत सञ्चालन गरेका थिए। पछिल्लो समय गाउँपालिकाभित्र लामखुट्टे अत्यधिक बढेको भन्दै स्थानीय बासिन्दाहरू डेंगु, मलेरिया लगायतका सरुवा रोगको उच्च जोखिममा परेको उनीहरूको भनाइ छ।
भेटघाटका क्रममा रास्वपा टोलीले गाउँपालिका अध्यक्षसमक्ष एक औपचारिक ज्ञापनपत्र समेत पेश गर्दै समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा विशेषगरी ढल निकासको कमजोर व्यवस्थापन, ठाउँ–ठाउँमा पानी जम्ने अवस्था तथा फोहर व्यवस्थापनमा कमीका कारण लामखुट्टे वृद्धि भएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमार्फत रास्वपाले निम्न प्रमुख मागहरू अघि सारेका छन्:
लामखुट्टे नियन्त्रणका लागि नियमित रूपमा फगिङ (औषधि छर्कने) व्यवस्था मिलाउने।
पानी जम्ने स्थानहरूको पहिचान गरी सरसफाइ तथा व्यवस्थापन गर्ने।
जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई सचेत बनाउने
फोहर व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने।
रास्वपा युवाहरूले जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले गम्भीरता नदेखाए आगामी दिनमा अझ सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
स्थानीय स्तरमा बढ्दो स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न यस्ता पहलहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अत्यन्त आवश्यक देखिएको छ।