चैत -९ सिरहा ।
स्टार खवर।
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा भएको दलितमाथि ज्यादती प्रकरणमा पीडित परिवारले गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन् ।
शनिबार दलित समुदायका अगुवासहित पुगेका पीडितहरूले जिल्ला प्रहरी कार्यालय, सिरहामा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव, र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएका हुन् ।
पीडित दीपक मल्लिककी श्रीमतीका अनुसार, उनीहरू अहिले पनि त्रासमा छन्। उनले भनिन्, “घरमा खानेकुरा केही छैन। गाउँपालिका अध्यक्षका छोराले पैसा लिएर आएर मिल्न भनेका थिए, तर हामीले अस्वीकार गर्यौं।”
पीडित परिवार रातभर जाग्राम बसेर स्थानीय प्रहरी चौकीमा आश्रय लिन बाध्य भएका छन्। उनीहरूका अनुसार, गाउँपालिका अध्यक्षले अझै पनि उनीहरूलाई धम्की दिन लगाइरहेका छन् ।
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका लागि फागुन १० गते गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव, र बजरंगी बाबाको मिलेमतोमा दलित समुदायका दीपक मल्लिकको घर डोजर लगाएर भत्काइएको थियो ।
गाउँपालिका अध्यक्ष पक्राउ, बजरंगी बाबा फरार
घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरिसकेको छ भने बजरंगी बाबा भने अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार, बजरंगी बाबाको खोजी कार्य तीव्र पारिएको छ ।
पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग
राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा पीडित परिवारमाथि जातीय छुवाछूत गरिएको, जबरजस्ती विस्थापित गरिएको, घर तोडफोड गरिएको जस्ता गम्भीर आरोप लगाइएको छ । पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने र दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।
जातीय छुवाछूतसम्बन्धी कानुनी व्यवस्था
नेपालको कानुनअनुसार, जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, “पीडित परिवारको जाहेरी प्राप्त भइसकेको छ, कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।”
Your email address will not be published. Required fields are marked *