सिराहा, फागुन २७ स्टार खबर ।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ परेवा भिरस्थित देवी मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ। मन्दिर निर्माणका लागि धनगढीमाई–१२ निवासी विनोद मण्डलको नेतृत्वमा विक्रम सम्वत २०८१ माघ १ गते फेसबुक अभियान सुरु गरिएको थियो।
उक्त अभियानमा दाताहरूको उल्लेखनीय सहयोग प्राप्त भएको थियो। अभियान थालिएको दिनमै काठमाडौं निवासी झविन्द्र सुवेदीले एकमुष्ट रु. १०,००० प्रदान गरेपछि मन्दिर निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको थियो।
विक्रम सम्वत २०८१ माघ २१ गते नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिवदयाल यादव, धनगढीमाई १३ का वडा अध्यक्ष सुर्यमान तामाङ, वडा सदस्य सन्तोष पूर्वछाने मगरको संयुक्त बाहुकमलबाट मन्दिरको शिलान्यास गरियो। पण्डित लक्ष्मण काफ्ले, लोकनाथ सुवेदी लगायतले मन्त्रोचारण गरी विधिपूर्वक पूजापाठ गरेका थिए।
निर्माण कार्यमा जोख बहादुर राई, पूर्ण बहादुर तामाङ, शारदा प्रसाद तिमल्सिना, इन्द्र बहादुर मगरलगायतको सक्रिय सहभागिता रहेको थियो। विक्रम सम्वत २०८१ माघ ३० गते मन्दिरको छत ढलान सम्पन्न भएको थियो। छत ढलानका लागि आवश्यक प्लाईको सम्पूर्ण व्यवस्थापन स्थानिय डावर निवासी निर्मल ठकुरीले निःशुल्क उपलब्ध गराएका थिए।
विक्रम सम्वत २०८१ फागुन १६ गते पूजा–पाठ गरी पत्रकार विनोद मण्डल र वडा सदस्य सन्तोष मगरले छतको सेटिङ खोलेपछि प्लास्टरको कार्य प्रारम्भ गरिएको थियो। फागुन १९ गते प्लास्टरलगायत सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको थियो। त्यसपछि, फागुन २२ गतेदेखि प्राइमर तथा फागुन २३ गते रातो रंगरोगन सम्पन्न गरियो।
मन्दिर निर्माणपछि स्थानीय भक्तजनहरूको नियमित आगमन भइरहेको छ। यो स्थान ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो। यस क्षेत्रमा सिता दह, साफा, परेवा भिरजस्ता धार्मिक स्थलहरू समेत रहेका छन्।
स्थानीय बासिन्दाहरूले मन्दिर निर्माण सफलतापूर्वक सम्पन्न भएकोमा हर्ष व्यक्त गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
Your email address will not be published. Required fields are marked *