रविराजको 'दउरा घाटे के लेजाई', जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जनकपुरधाम ।

मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले । मधेशका घरघरमा जहाँ-जहाँ छठको गीत बज्छ, त्यहाँ शाहको हालै सार्वजनिक भएको 'दउरा घाटे के लेजाई' बोलको गीत बजेकै सुनिन्छ ।

यो गीत मधेशमा यति असाध्यै मन पराइनुको कारण छ - गीत मौलिक शैली र पारम्परिक लयमा निर्माण गरिएको छ । छठ पर्व सन्तान प्राप्ति र सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । गीतमार्फत् सोही विषयवस्तुलाई यति गहिरो ढंगले दर्शाइएको छ कि यो गीत सुन्नेलाई अन्तरआत्मा अनि मनमस्तिष्कमा छठ पर्वको महत्त्व आभाष गराउँछ, अनि भावुक बनाउँछ । 

शाहका अनुसार, गीतमा खासगरी एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ । मधेश तथा भारतको बिहार, यूपीलगायतका क्षेत्रमा निसन्तान महिलालाई बाँझिन भनेर कसरी सामाजिक तथा मानसिक प्रताडणा दिइन्छ भन्ने कुरालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको शाहले बताए । यस्तै, गीतको अन्त्यमा छठी मातामाथि विश्वास गर्ने र पूजा गर्नेलाई सन्तान प्राप्ति भएको देखाइएको र यसले छठको महत्त्व बुझाउने गायक शाहको भनाइ छ ।

अत्यधिक लोकप्रिय बनिरहेका यस गीतका लेखक उमालाल यादव हुन् । यसैगरी, संगित रौशन सिंहले भरेका छन् भने भिडयो निर्देशन राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय भने गायक शाहसहित सिमा शर्मा, ममता मण्डल, बीबीशा लगायतको छ । नेपाल टेलिकम प्रायोजक रहेको यो गीत र यसको म्यूजिक भिडियो गायक शाहको सबैजसो गीत सार्वजनिक हुने गरेको आफ्नै आधिकारिक युट्युब च्यानल 'रविराज शाह अफिसियल'बाट सार्वजनिक गरिएको छ । नेपालको चर्चित रियालिटी शो 'नेपाल लोकस्टार'बाट चर्चामा आएका शाह हिन्दी, नेपाली, भोजपुरी, मैथिलीलगायतका भाषामा लोभलाग्दो शैलीमा गीत गाउँछन् । उनले यसअघि विभिन्न भाषामा गाएका गीतहरू पनि निकै चर्चित छन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *