रौतहट १० माघ ।
रौतहटको ईशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी गरिएको छ ।
भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकैलागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेकाे छ ।
ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रह्मस्थानमा अज्ञात ब्यक्तिले आगजनी गरेको हो ।
आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरण कुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थलमा पुगेको छ ।
विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटक-पटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ ।
जटहरा गाउँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।
आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन् । कसैले पराल राखेर मंगलबार राति दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ ।
घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डीएसपी गिरीले जानकारी दिएकी
छन् ।
सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।
आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ बर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।
Your email address will not be published. Required fields are marked *