सुरेन्द्र कामती-सिरहा ।
सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका-८, अरङका संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको हो ।
मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा आज दिउँसो ४ बजे उनी जान खोजेका थिए । त्यसैक्रममा घरजग्गा किनेका सोही स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले उनीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् ।घटनाबारे प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।
कामतीले २०७३ सालमा कल्याणपुर-८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका
थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।
आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराइहाले ।
त्यसमध्ये सिंहले १० कठा खेत, १६ धुर घडेरी र घर साहु पंजियारसँग कौडीको भाउमा किनेका थिए । सोही विषयमा पीडित कामतीले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका थिए । तर, सुनुवाइ नभएपछि उनी बाध्य भएर आज आफै घर फिर्ता लिन त्यहाँ पुगेका थिए ।
Your email address will not be published. Required fields are marked *