बद्री नारायण यादव
सिरहा,१८ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)–जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले सिरहा नगरपालिकाभित्र एकै दिन तीनवटा चुनावी भेला सम्पन्न गरेका छन् । सिरहा नगरपालिकाको वडा नं.१,७ र ८ गरी तीनवटा चुनावी भेला सम्पन्न गरेका हुन् ।
नेकपा(एमाले)–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले चुनावी भेलामा बोल्दै मंसिर ४ मा हुने निर्वाचन पछि नेकपा (एमाले) पार्टीको नेतृत्वमा सरकार बन्यो भने बृद्धभत्ता बृद्धि गरेर पाँच हजार पु¥याउने बताए ।
‘एमाले नेतृत्वकै सरकारले बृद्ध भत्ता दिनुपर्ने नीति ल्याएको,’उनले भने,‘जब–जब एमाले सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् तब–तब बृद्ध भत्ता बृद्धि गरेका छन् ।’ अरु पार्टीले नेतृत्व गरेको सरकारले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न नजानेको उनले आरोप लगाए ।
विकास निर्माणको सन्दर्भमा पार्टी भन्दा माथि उठेर स्थानीय तहका पदाधिकारीहरुलाई सोधी–खोजी गरेर बजेट ल्याउने काम गरेको उनले बताए । सिरहा क्षेत्र नं.३ को शिक्षा, स्वास्थ्य, कृषि तथा सडक संजाल सुधार लगायत अन्य योजनाहरुमा प्राथमिकीकरण गरेर बजेट ल्याउने काम गरेको उनको दाबी छ ।

सिरहा थाना चौक देखि दक्षिण बाँध हुँदै खिरौना, माडर, बसपिट्टा राधाकृष्ण मन्दिरसम्म १५ किलोमिटर सडक कालोपत्रेका लागि ३५ करोड, सदरमुकाम विकासका लागि बार्षिक ५० करोड, युवा स्वरोजगारका लागि न.पा.मा ५० र गापामा ३० लाख, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सिरहा क्षेत्र नं.३ मा २१ सय घर निर्माण,सल्हेश मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि ७ करोड लगायतका अन्य योजनाहरु एमाले नेतृत्व सरकारको कार्यअवधिमा ल्याएको उनले बताएका छन् ।
‘मैले यो क्षेत्रको विकासका लागि काम गरेको हुँदा फेरि पनि निर्वाचित हुने मेरो अधिकार छ,’उनले भने,‘जनताको चाहना र आवश्यकता अनुसारको विकासका लागि मेरो जित भन्दा अरु बिकल्प छैन् ।’ नेकपा(एमाले)–जसपा गठबन्धन भएर निर्वाचनमा भाग लिएको हुँदा प्रतिनिधिसभा सदस्यको लागि सुर्य र प्रदेशसभा सदस्यका लागि जसपाको तर्फबाट उम्मेदवारी दिएकी रेणु यादवलाई मतदान गर्न उनले सबैसँग आग्रह गरे ।
आफ्नो घर सिरहा क्षेत्र नं. ४ मा भए पनि सिरहा जिल्लाकै लागि उदाहरणीय कार्यहरु गरेको जसपाको तर्फबाट सिरहा क्षेत्र नं.३ (ख) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेणु यादवले बताइन् । ‘क्यान्सर रोग लागेपछि उपचारका लागि भरतपुर जानुपर्ने बाध्यता आउने केही वर्षभित्र अन्त्य हुन्छ,’उनले भनिन्,‘मैले आफ्नो प्रयासबाट जग्गा र बजेट व्यवस्थापन गरिसकेको छु । आउने केही महिनाभित्र प्रदेश स्तरीय क्यान्सर अस्पतालको निर्माण कार्य सुरु हुन्छ ।’
तीनवटै चुनावी भेलामा विभिन्न बस्ती तथा टोलबाट सैकडौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
Your email address will not be published. Required fields are marked *