
भाद्र-२६, सिरहा।
सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आइतबार जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनकालागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने बताइन् ।

उनले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरिसक्ने बताइन् । उनले यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँचलाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेकाले भूमिहीन सुकुम्वासी र भूमिहीन दलीतहरुका लागि सरकारले गरिरहेको लालपुर्जा वितरण कार्य नियमित काम भएकाले आचारसंहिता लाग्ने विषय नभएको उल्लेख गरिन् ।
मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको पनि बताइन् ।
Your email address will not be published. Required fields are marked *