चैत-२९ सिरहा।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सिरहाको मिर्चैया नगरपालिकामा भावी मेयरको चर्चामा रामदयाल यादव छन् । पार्टीबाट टिकटको सुनिश्चितता भइनसके पनि उनी जसपाबाट मेयरका उम्मेदवारको बलिया आकांक्षी हुन् ।
विज्ञानमा स्नातक गरेका उनको लामो राजनीतिक अनुभव छ । कान्छै उमेरमा तत्कालीन महेशपुर गाविसमा वडाध्यक्ष बनेका उनको यस क्षेत्रमा जनस्तरमा बलियो पकड छ । प्रथम मधेश आन्दोलन ६२-६३ देखि मधेशवादी दलमा सक्रिय उनको मधेश आन्दोलनमा पनि अतुलनीय योगदान छ ।
निर्वाचित प्रतिनिधिहरूले समग्र नागरिकको उत्थानका लागि सामूहिक प्रयत्न गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत विकासमा लागेको र जनताले अब आफू जस्ता निस्वार्थ भावले राजनीतिमा लागेको व्यक्तिको आवश्यकता महसुस गरेकोले आफू अघि सरेको उनको भनाइ छ । हामीले उनै यादवसँग अन्तर्वार्ता लिएका छौं ।
किन मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको ?
खासगरी स्थानीय तहमा निर्वाचनकै माध्यमबाट आफूले चाहेको परिवर्तनका लागि काम गर्ने पहलकदमी लिनुपर्छ भन्ने मेरो बुझाइ हो । अहिले रहेका जनप्रतिनिधिले के गरे, कति काम गरे, सबैलाई थाहा छ । जस्ताको अवस्था उस्तै छ, तर जनप्रतिनिधिहरुको जीवनस्तर नै बद्लियो । राजा भइसके उनीहरु । राजनीति पेशा नभई सेवा हो भन्नेमा म विश्वास गर्छु । अहिले जनप्रतिनिधिले राजनीतिलाई व्यापार बनाए । मैले यसलाई बदल्न चाहेको छु । जनतालाई राजनीति सेवा हो भन्ने अनुभूति दिलाउन चाहेको छु । त्यसैले मिर्चैयामा म मेयरका लागि अघि सरेको हुँ
टिकटको सुनिश्चितता नै भएको छैन । तपाईले चुनावको तयारी थालिसक्नुभएको छ । टिकट पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
हो, अहिले टिकटको सुनिश्चितता छैन । तर, यस क्षेत्रमा र पार्टीमा मेरो योगदानको हिसाबले पार्टी मुल्यांकन गर्छ भन्ने विश्वास छ मलाई । राजनीति मार्फत समाजका लागि मेरो समर्पण, यहाँका जनताको भावना र क्षमताका हिसाबले पार्टीले मलाई नै अगाडी सार्छ भन्नेमा विश्वस्त छु म ।
तपाईंले मिर्चैया नगरपालिकामा देखेका समस्या के के हुन् ?
मिर्चैया नगरपालिकाको मात्र हैन, नेपालभरिको स्थानीय निकायको समस्या नै के हो भने भइरहेका समस्याको बोध नगर्ने समस्या । समाधानका लागि पहिला त्यहाँ समस्या छ भन्ने कुराको ज्ञान हुनु अपरिहार्य छ । विशेषतः सानासाना व्यवस्थापकीय कमजोरीको समेत सुधार हुन सकेको छैन । उदाहरणका लागि कम्तीमा नगरपालिका अन्तर्गतका कार्यालयहरूमा सेवा प्रवाह गर्दा कस्तो नीति अख्तियार गर्ने भन्नेमा ठोस पहलकदमी त लिन सकिन्छ होला नि ? एउटा नगरवासीले नगरपालिकाको सेवा लिन जाँदा सधैं रैतीको व्यवहार बेहोर्नुपर्ने त साँचो हो नि, त्यसमा हामी के सुधार गर्न सक्दैनौं र ? अतिक्रमित फुटपाथ, अस्तव्यस्त सडक, सामुदायिक विद्यालयहरूको खस्कँदो गुणस्तरमा सुधार ल्याउनु के असम्भव छ र ?
सुधार्न तपाईं के गर्नुहुन्छ ?
म मूलतः व्यवस्थापकीय रूपमा नगरपालिका सेवा व्यवस्थित र व्यावसायिक हुन भन्ने चाहन्छु
र, मेरो पूरा ध्यान त्यसैमा जान्छ । साथसाथै २०/३० हजारका लागि वैदेशिक रोजगारीमा जान बाध्य नगरवासीका लागि नगरपालिकामा नै स्वरोजगार, व्यावसायिक या रोजगार हुने व्यवस्था मिलाउन निजी क्षेत्रसँग ठोस सहकार्य गर्न चाहन्छु । शिशु स्याहार, बालशिक्षा, माध्यमिक तहको शिक्षा, आधारभूत स्वास्थ्य सेवामा गुणस्तरीय र एकरूपता कायम गर्ने, फोहोर व्यवस्थापनमा ठोस कदम चाल्ने, नगरक्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने र अवैध रूपमा भइरहेको प्राकृतिक स्रोतको दोहनमा लगाम लगाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
मिर्चैयाका जनताले तपाईलाई पत्याउलान् भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
मिर्चैयामा यसपाली चुनाव मात्र हुने छैन । सत्य र असत्यको लडाइँ पनि हुनेछ । रामायणमा जसरी सत्यको विजयी भयो, त्यसैगरी मिर्चैयाका जनताले मलाई जिताउने छन् ।
Your email address will not be published. Required fields are marked *